नियम १९
पुनरावेदन समितिको कार्यविधि -
१) पुनरावेदन समितिमा परेका पुनरावेदन उपरको कारबाही र किनारा इजलास कायम गरी पुनरावेदन समितिका सबै सदस्यहरुले सामूहिक रुपमा गर्ने छन् ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन उपरको कारबाही कुनै दुईजना सदस्यले र पुनरावेदनको अन्तिम कारबाही अध्यक्ष सहित कुनै एक सदस्य उपस्थित भएमा गर्न सक्ने छन् ।
(३) तीनजना सदस्य उपस्थित भएको इजलासमा तीनैजना सदस्यको एकमत वा दुईजना सदस्यको बहुमत कायम भएमा सो मत पुनरावेदन समितिको निर्णय मानिनेछ ।
(४) दुईजना सदस्य उपस्थित भएको इजलासमा एकमत कायम हुन नसकेमा कारबाहीको हकमा अध्यक्ष सहितको इजलास भए अध्यक्षको राय बमोजिम र अध्यक्ष वाहेकको इजलास भए कानून सदस्यको राय बमोजिम गर्नु पर्नेछ । पुनरावेदनको निर्णय वा अन्तिम आदेशको हकमा पहिला अनुपस्थित हुने सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय नै पुनरावेदन समितिको निर्णय हुनेछ ।
(५) उपनियम (४) बमोजिम पहिला अनुपस्थित हुने सदस्य समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालतमा पेश गरिनेछ र सो विषयमा सर्वोच्च अदालतबाट भएको निर्णय नै अन्तिम हुनेछ ।
(६) पुनरावेदन समितिले सामान्यतया तीन महिनाभित्र पुनरावेदनको टुङ्गाे लगाउनु पर्नेछ ।
(७) पुनरावेदन समितिको अन्य कार्यविधि सो समितिले नै निर्धारण गरे बमोजिम हुनेछ ।